आधारभूत शिक्षकका लागि स्नातक र माविका लागि स्नातकोत्तर अनिवार्य

काठमाण्डु टुडे २०८० भदौ २७ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनैपर्ने गरी शिक्षा विधेयक तयार पारेको छ ।

प्रतिनिसभामा प्रस्तुत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार दर्ता गराएको विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक तोकिएको हो । अब आधारभूत तहका शिक्षकका लागि पनि अनिर्वार्य स्नातक गरेको हुनुपर्ने छ । यसअघि प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उत्तीर्ण भएको भए हुने व्यवस्था थियो ।
आधारभूत तहको शिक्षकले अनुमतिपत्रको परीक्षामा सहभागी हुन स्नातक तहको प्रमाणपत्र पेश गर्नुपर्छ । आधारभूत तहका शिक्षकलाई कक्षा १ देखि ५ सम्म साधारण र कक्षा ६ देखि ८ सम्मका लाई विषयगत शिक्षकका रुपमा वर्गीकरण गरिएको छ ।
साधारण शिक्षकले जुनसुकै विषयमा अध्ययन गरे पछि हुन्छ भने विषयगत शिक्षकले सम्बन्धित विषयमै स्नातक गरेको हुनुपर्छ । माध्यामिक तहको शिक्षकका लागि भने अनिवार्य रुपमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ ।
माध्यमिक तहको तृतीय श्रेणीमा ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गरिनेछ ।

माध्यमिक द्वितीय श्रेणीमा २० प्रतिशत खुला प्रतिस्पर्धा र ८० प्रतिशत आन्तरिक प्रतिस्धर्पाबाट पदपूर्ति गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसअघि शिक्षकलाई आधारभूत, निम्नमाध्यामिक र माध्यामिक गरी तीन तहमा वर्गीकरण गरिएकामा निम्न माध्यामिक तह हटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us