६० केजी सुन तस्करी प्रकरणः यी सातजनालाई प्रतिवादी नबनाउन सिआईबीको सिफारिस

काठमाण्डु टुडे २०८० भदौ २७ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६० केजी सुन तस्करी प्रकरणमा ६ जनालाई प्रतिवादी नबनाउन सिफारिससहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाएको छ ।

भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिन सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सिआइबीले राय दिएको हो । यसअघि सोही प्रकरणमा पक्राउ परेकी रूक्मिना सुब्बा राजश्व अनुसन्धान विभागको हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

ती सात जनाको सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको श्रोतले जनाएको छ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ३२ जनालाई सिआईबीले सो प्रकरणमा पक्राउ गरेको छ । प्रतिवादी बनाइएका ५० मध्ये ४ नेपालीसहित १८ जना फरार सूचीमा छन् । फरार रहेकाहरुविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी भइसकेको छ ।

रेडी ट्रेड प्रालिको नाममा हङकङबाट ल्याइएको मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर राखिएको ६१ केजी सुन राजश्व अनुसन्धान विभागले भन्सार पास भएर बाहिरिएपछि २ साउनमा सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us