
काठमाण्डु, २७ भदौ– आफ्ना दिवंगत नेता सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा एमाले काठमाण्डुका उपाध्यक्ष दीपक निरौला दिल खोलेर हाँसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनको उक्त असंवेदनशील तस्बिरलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । निरौलाले बुधबार बिहान पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थिक शरीरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
उनीसँगै सरकारका दुई मन्त्री रेखा शर्मा र रञ्जिता श्रेष्ठ चौधरीले हात जोडेर नेम्वाङप्रति श्रद्धासुमन अर्पण गरिरहेको देखिन्छन् । निरौला भने धेरै खुसी भएजस्तो मुद्रामा हाँसेका छन् । समाजमा एउटा उखान छ, ‘मलामी जाँदा नहाँस्नु, जन्ती जाँदा नरुनु’, उक्त उखानको मात्र होइन, मानवीयता र संवेदनशीलताको खिल्ली उडाउँदै निरौला हाँसेका छन् ।
संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिक शरीर हिजैदेखि एमाले काार्यलयमा श्रद्धाञ्जीका लागि राखिएको छ ।
अपराह्न १ बजेपछि धार्मिक संस्कार अनुसार श्रद्धाञ्जलीका लागि उनको शव बालुवाटारस्थित निवासमा लैजाने तयारी छ ।
नेम्वाङको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने कार्यक्रम छ । सरकारले बिहीबार नेम्वाङको निधनमा सार्वजनिक बिदा दिएको छ ।