सुवास नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने

काठमाण्डु टुडे २०८० भदौ २७ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, २७ भदौ–हृदयघातका कारण मंगलबार निधन भएका संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचद्र नेम्वाङको पार्थिव शरीर आज दिनभर बालुवाटारस्थित निवासमा राखिने भएको छ ।

अपराह्न १ बजेपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर निवासमा राखिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।

परिवारको आग्रहमा पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट निवासमा लान लागिएको हो । त्यसअघिसम्म पार्टी कार्यालयमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने विष्टले बताए ।

यसअघि मंगलबार एमाले कार्यालय पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टाई, तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी अधिकारी, नेपाली सेना र प्रहरीका अधिकृत, कुटनीतिक नियोगका प्रमुखहरुले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको भोलि बिहीबार बिहान ११ बजे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको एमालेले जनाएको छ । नेम्वाङको शोकमा सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us