नेपाली सेनाका मेजर मृत फेला

काठमाण्डु टुडे २०८० भदौ २७ गते ७:२९ मा प्रकाशित

डोल्पा, २७ भदौ– दुई सातादेखि बेपत्ता नेपाली सेनाका मेजर मृत फेला परेका छन् ।

डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित मंगलबार मृत भेटिएका हुन् । गत १० भदौमा ब्यारेकबाट एक्लै बाहिर निस्किएका पण्डित सम्पर्कमा आएका थिएनन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा एउटा पुरुषको शव भेटिएपछि माछा मार्न खोलामा गएका स्थानीयले प्रहरीमा खबर गरेको थियो ।

खबर पाएलगत्तै डोल्पा प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा गएका सुरक्षाकर्मीले भेरी नदीको चेपमा रहेको पण्डितको शव बाहरि निकालेको थियो ।

औंठी र घडीका आधारमा शवको पहिचान भएको डिएसपी बुढाथोकीले बताए । बुढाथोकीका अनुसार पण्डितका बाबुले पनि शव छोराकै भएको पुष्टि गरेका छन् ।

धेरै दिनसम्म पानीमा रहेका कारण शवको अनुहार नचिन्ने अवस्थामा छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us