
काठमाण्डु, २६ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा राखिएको छ ।
नेम्वाङप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रत्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरे, पूर्वसभामुअ ओनसरी घर्ती, मन्त्रीहरु, उपसभामुख इन्दिरा राना मगर, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, एमालेजन, उच्च पदस्य सरकारी अधिकारी, संसद सचिवालयका अधिकारी र कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारीले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइन् । यस्तै एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाए । श्रद्धाञ्जली दिने क्रममा अधिकांश नेता भक्कानिएका थिए ।
नेम्वाङको ७१ वर्षको उमेरमा गएराति हृदयघातबाट निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज र भोलि अन्तिम श्रद्धाञ्जलीका लागि एमाले कार्यालयमा राखिने भएको छ ।
पार्थिव शरीरको सुरक्षा र व्यवस्थापनको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाको टोलीले मंगलबार पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमाले कार्यालय च्यासल लगेको थियो ।