
काठमाण्डु, २६ भदौ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् ।
नेम्वाङको निधनमा मंगलबार शोक वक्तव्य जारी गर्दै खनालले आफ्नो सात कक्षादेखिको सहपाठी गुमाउँदा स्तब्ध भएको बताए । नेम्वाङसँग माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससी सँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण खनालले गरे ।
आफूले नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको स्मरण गर्दै आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको बताउ ।
पछिल्लो समय पार्टी विभाजनपछि पनि आफूहरुबीच सांवाद हुने गरेको उनले उल्लेख गरे । नेम्वाङ पार्टी विभाजनका कारण दुःखी भएको खनालले बताए ।
‘पार्टी विभाजन भएको प्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो’ खनालले भनेका छन्, ‘आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दुःखद निधन भएको छ ।’