चीनले जारी गरेको नक्साबारे गम्भीर छु, त्यसबारे भ्रमणमा कुरा उठाउँछुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० भदौ २४ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।

अमेरिका र चीन भ्रमणबारे छलफल गर्न आफैंले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा उनले आसन्न चीन भ्रमणका क्रममा हुने चिनियाँ उच्च अधिकारीसँगको भेटमा उक्त विषयलाई महत्वका साथ उठान गर्ने बताए ।

दुई महाशक्ति देशको भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग छलफल गरेका थिए । बैठकमा रानजीतिक दलका नेताहरुले चीनद्वारा भर्खरै जारी नक्साबारे कुरा राख्न भनेका थिए ।

‘यसबारेमा म गम्भीर छु, नेपालको संसदबाट पारित नक्सालाई छिमेकीहरुले सम्मान गर्नैपर्छ’ प्रधानमन्त्रीले भने ।

चीनले गत २१ अगस्टमा जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा उल्लेख छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us