
काठमाण्डु, १८ भदौ– काठमाण्डुका मेयर बालेन्द्र साहको दाबीलाई जिल्ल प्रशासन कार्यालय काठमाण्डुले खारेज गरेको छ ।
साहले आफ्नी श्रीमती सवार गाडी ट्राफिक प्रहरीले ७ मिनेसम्म रोकेर चेकजाँचका नाममा आफ्नी श्रीमती सबिना काफ्लेमाथि असभ्य र अपमानजनक व्यवहार गरेको आरोप लगाएका थिए ।
उनको सचिवलयका तर्फबाट जारी विज्ञप्तिमा सार्वजनिक बिदाको दिन चलाउने परमिट लिएको भए पनि शनिबार साँझ ट्राफिकले रोकेका बेला परमिट गाडीमा नभएको स्वीकार गर्दै तर, अस्पतालको सघन कक्षमा रहेको शिशुलाई स्तनपान गराएर फर्कंदै गरेका बेला मानवीय संवेदनाको ख्याल नगरी सात मिनेटसम्म गाडी रोकिएको भन्दै प्रहरीको निन्दा गरिएको थियो । तर, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बालेन्द्र पत्नी सवा गाडीले सार्वजनिक बिदाका दिन चलाउने अनुमति नदिएको स्पष्ट गरे ।
बस्नेतले बिदाका दिन सरकारी गाडी चलाउन अनुमति लिनुपर्ने व्यवस्था रहेको बताए । ‘जिल्ला प्रशासन कार्यालयबाट बालेन्द्र पत्नी सवार गाडीले पास लिएको देखिएको छैन’, बस्नेतले भने, ‘यदि पास लिएको दाबी सत्य हो भने सार्वजनिक गर्न म चुनौती दिन्छु ।’ बस्नेतले मेयर पत्नी भन्ने थाहा पाएपछि प्रहरीले पास नभए पनि छाडिदिएको र कुनै दुव्र्यवहार नगरिएको बताए । उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआईजी पोषराज पोखरेलले बालेनले आरोप लगाएजस्तो उनकी पत्नी सवार गाडी सात मिनेट नरोकिएको बताए ।
यस्तै उनले बालेन पत्नीसँग कुनै सोधपुछ वा केरबार नगरिएको प्रष्टीकरण दिए । ‘उहाँले दाबी गरेको जस्तो गाडी सात मिनेट होइन, ३० सेकेण्डदेखि बढीमा एक मिनेट मात्र रोकिएको हो’, पोखरेलले भने, ‘चालकसँग बाहेक गाडीमा बसेका कोहीसँग पनि प्रहरीले सोधपुछ वा केरकार गरेको छैन ।’ चालकसँग भने सार्वजनिक बिदाका दिन सरकारी गाडीले अनुमति लिएर चलाउनुपर्नेबारे सम्झाएको उनले बताए ।
बालेन्द्र पत्नी सवार गाडी शनिबार राति करिब ९ बजेको समयमा कोटेश्वरमा नियमति जेकजाँचमा परेको थियो । सोही विषयमा बालेन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारमा आगो लगाउने असन्तुलित र अराजक धम्की दिएका थिए ।
पोखरेलले सडकमा गुडिरहेको गाडीमा को भर्खरै सुत्केरी भएको हो भन्नेबारे गाडी नै नरोकी कसरी थाहा पाउने ? भन्ने प्रश्न गरे ।