
बुटवल, १७ भदौ– सहमति प्रयास विफल भएपछि एमाले लुम्बिनी प्रदेश अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको छ ।
प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेल र रिजालले अडान नछाडेपछि सहमतिमा नेतृत्व चुन्ने प्रयास विफल भएको हो ।
अध्यक्ष केपी ओलीले शनिबार अधिवेशन उदघाटन गर्दै निर्वाचन नगर्न र सहमतिमा नेतृत्व चुन्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि नेताहरुले दुई प्रतिस्पर्धीबीच सहमतिको प्रयास गरे । तर, दुर्व पछि नहटेपछि सहमति हुन सकेन ।
पाल्पा निवासी कँडेल अहिले पनि एमाले प्रदेश समिति अध्यक्ष छन् । प्यूठान निवासी रिजाल केन्द्रीय सदस्य हुन् । चार हजार प्रतिनिधि मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलनिकट हुन् । दुवै नेताले अधिवेशन उदघाटनसत्रमा बोल्ने क्रममा आफूहरुले गुट नबनाएको दाबी गरेका थिए ।