
काठमाण्डु, १४ भदौ– विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।
सत्तारुढ दलनिकट विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीले संस्थानमा ताला लगाएका हुन् ।
तर, विद्यार्थीको अर्को समूहले सहमतिलाई धोकाको संज्ञा दिँदै उक्त सहमति खारेजीको मागष् राखेको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले वास्तविक विद्यार्थीको अनुपस्थितिमा गरिएको सहमति नमान्ने बताए ।
उनले इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीसमेतको सहमतिमा नयाँ सम्झौता हुनुपर्ने माग असन्तुष्ट पक्षको छ । संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार बनाएपछि विद्यार्थी आन्दोलित छन् ।
नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यक्ष शुलभ चापागाईंको नेतृत्वमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र विप्लव निकट क्रान्तिकारी शुल्क वृद्धि फिर्ताको माग राखेर आमरण अनसनमा थिए । आन्दोलनकारीलाई सहमति गर्दा बाइपास गरिएको भन्दै चापागाईंले नेविसंघ परित्याग गरेका छन् ।
काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी सम्वद्ध अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी मोद्र्धामा आवद्ध विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बासकोटा र शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालबीच बुधबार पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।
आन्दोलनरत विद्यार्थी संगठनको मागअनुसार त्रिविले संस्थानद्वारा वृद्धि गरिएको शुल्क फिर्ताका लागि निर्देशन दिने सहमतिमा उल्लेख छ । विद्यार्थी संगठनहरुले हाल स्थगित भएका परीक्षा सुचारु गराउन र आमरण अनसनसहित घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने प्रतबिद्धता जनाएका थिए ।