काठमाण्डु, ११ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवहरु मुद्दा मामिलाको त्रासका कारण निर्णय गर्नै डराउने अवस्था उत्पन्न भएको बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्री र सचिवमा निर्णय गर्दा मुद्धा लाग्छ कि भन्ने आतंकले घर गरेको बताए ।
‘आजभोलि त गम्भीर स्थिति के भएको देखिएको छ भने अब हाम्रा कर्मचारीहरु, सचिवहरु, मन्त्रीहरु सबैमा निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता आउने हो कि भन्ने खतरा पैदा भएको छ,’ उनले भने, ‘ निर्णय गर्दा अदालत जानुपर्ने । मुद्दा मामिलामा जानुपर्ने भनेर एउटा आतंकजस्तो बनेको छ ।’
व्यवसायीमा पनि व्यवसायमा अगाडि बढ्दै जाँदा मुद्दा, मामिलामा फसिन्छ कि भन्ने आतंक फैलिएको उनको भनाइ थियो ।