महरालाई पक्राउ गर्न काँग्रेस नेताहरुद्वारा प्रचण्डलाई दबाब

काठमाण्डु टुडे २०८० भदौ १० गते १२:०६ मा प्रकाशित

काठमाण्डु, १० भदौ– कांग्रेस रूपान्तरण अभियानका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुन तस्करी, ललिता निवाससहित ठूला भ्रष्टाचार प्रकरणमा संलग्न सत्ता र प्रतिपक्षका नेतामाथि कारबाही गर्न माग गरेको छ ।
आइतबार बिहान बालुवाटारमा भेटेर उनीहरुले प्रधानमन्त्रीलाई भ्ष्टाचारविरुद्धको अभियानमा आफूहरुको साथ रहेको भन्दै कसैलाई नछाड्न सुझाव दिए । भेटमा सहभागी काँग्रेस केन्द्रीय सदस्य भूपेन्द्रजंग शाहीले कसैको पनि मुख नहेरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको बताए ।

उनले सुन तस्करीमा नाम मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गर्न र नक्कली भुटानी शरणार्थी तथा ललिता निवास प्रकरणमा मुछिएका काँग्रेस नेताहरुमाथि पनि कारबाही गर्न माग गरे ।

ललिता निवासमा काँग्रेस नेता विजयगच्छदार र नक्कली भुटानी प्रकरणमा बालकृष्ण खाँण मुछिएका छन् । गच्छदारसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ भने खाँण पुर्पक्षका लागि कारागारमा छन् ।

‘कुनै पनि भ्रष्टाचारका प्रकरणमा यो मेरो र यो अर्काको भनेर होइन निष्पक्ष छानबिन हुनुपर्छ’, शाहीले भने, ‘भ्रष्टाचारमा मुछिएका काँग्रेस, एमाले र माओवादीका कोही पनि नेताले उन्मुक्ति नपाओस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं ।’ प्रधानमन्त्री भेट्न शाहीसहित मधु आचार्य, जगदिश्वर नरसिंह केसीलगायत नेता बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले सबै काण्डमा नाम मुछिएकाहरुलाई छानबिनको दायरामा ल्या प्रतिबद्धता जनाएको शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us