विदेशी राष्ट्रिय गान बजाइएको भन्दै कार्यक्रम छाडेर हिंडे मुख्यमन्त्री चौधरी

काठमाण्डु टुडे २०८० भदौ ९ गते १०:२९ मा प्रकाशित

भैरहवा, ९ भदौ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफैं प्रमुख अतिथि रहेको एक कार्यक्रम बहिस्कार गरेका छन् ।

कार्यक्रमका आयोजकले नेपाली राष्ट्रियताको अपमान गरेको भन्दै चौधरीले रिसाएर कार्यक्रमस्थल छाडेका हुन् । चौधरी क्रियाशील ‘किवानीज इन्टरनेशनल’ नामको सामाजिक संस्थाको कार्यक्रममा सहभागी थिए ।

आयोजकले कार्यक्रमको सुरुमै नेपाली राष्ट्रियगानका लागि उठ्न भनेर फिलिपिन्सको राष्ट्रगानको धुन बजाएपछि चौधरीले कार्यक्रमस्थ छाडेका हुन् । चौधरीले नेपाली माटोमा भएको कार्यक्रममा विदेशी राष्ट्रियगान बजाइनु आपत्तिजनक भएको बताए ।

‘नेपालको राष्ट्रगान बजाउनुपर्नेमा विदेशीको बजाइएकाले राष्ट्रियता र मातृभूमिको अपमान ठानेर कार्यक्रम छाडेर हिंडेको हुँ’, चौधरीले भने । उनले आयोजकबारे नबुझी कार्यक्रममा जानु आफ्नो गल्ती भएको समेत बताए ।

कार्यक्रममा मुख्यमन्त्री चौधरी प्रमुख अतिथि र फिलिपिन्सका नागरिक बेल गारसिया विशेष अतिथि थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us