रवि लामिछानेको आरोपः बाबुपुस्ताले लड्यो, नवयुवराज छोरा पुस्ता लुटपाटमा छ

काठमाण्डु टुडे २०८० भदौ ६ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाबु पुस्ताले मुलुकको राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको आडमा छोरा पुस्ताले भ्रष्टाचार र अनियमितताका काण्ड मच्चाइरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै लामिछानेले बाबुपुस्ताले गरेको युद्ध र आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाएको आरोप लगाए ।

‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप छ । हामीले देख्दै आएका छौं, लामिछानेले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ किनकी यो परिवर्तनमा बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ ।’

लामिछानेले ‘नवयुवराजहरुमाथि छानबिन हुनेमा आशंका गरे । केही माओवादी र एमाले नेताका छोराहरु पछिल्ला अनियमितता र भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

सरकारले गरेको सुशासनको कुरामा आफूहरुले शंकाको सुविधा दिइरहेको बताए । सबै प्रकरणको छानबिन सही ढंगले हुन्छ भन्ने विश्वास रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us