
काठमाण्डु, ६ भदौ– प्रहरीले नयाँबानेश्वर र बुद्धनगरमा बुधबार बिहान आतंक मच्चाउने भैंसी साहुको खोजी थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले उक्त भैंसी कसको हो र कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको बताए ।
ढुंगेलका अनुसार भैंसीको एउटा सिङ भाँचिएको छ भने घाउबाट रगत बगिरहेको छ । कसैले मासुका लागि काट्न खोजेपछि भैंसी फुत्किएर भागेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।
बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म समयमा बुद्धनगर, बानेश्वर र शंखमुल क्षेत्रमा भैंसीले आतंक मच्चाएको थियो ।