बानेश्वरमा भैंसी आतंक, नियन्त्रणमा लिन पाँच घण्टा

काठमाण्डु टुडे २०८० भदौ ६ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नयाँबानेश्वर र बुद्धनगरमा आतंक मच्चाउने भैंसी पाँच घन्टापछि नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले  वन कार्यालय स्युचाटारबाट आएको टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइएको बताए ।

बुधबार बिहान ६ बजेको समयमा बुद्धनगर क्षेत्रमा देखापरेको भैंसीले करिब पाँच घण्टासम्म आसपास क्षेत्रमा आतंक मच्चाएको थियो । प्रहरीले घरपालुवा भैंसी कसरी सडकमा आएर आतंक मच्चायो भन्ने जानकारी आउन बाँकी रहेको जनाएको छ ।

बानेश्वर प्रहरी बृत्तको टोलीले भैंसी नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी मगाइएको थियो । प्रहरीले घेरेपछि बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेको भैंसीलाई एक विद्यालयको कम्पाउन्डमा छिराएर नियन्त्रणमा लिइएको थियो ।

भैंसीको एउटा सिङ भाँचिएको अवस्थामा रहेकाले कसैले मासुका लागि काट्न खोज्दा उम्किएर भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us