बहालवाला न्यायाधीशको नेतृत्वमा बन्दैछ सुन तस्करी छानबिन आयोग

काठमाण्डु टुडे २०८० भदौ ६ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष केपी ओली बैठकमा उपस्थित हुन तयार भए सरकारले आज ६० केजी सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको घोषणा गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समिति गठनको सहमतिका लागि मंगलबार बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा ओली उपस्थित भएनन् ।

ओलीले स्वास्थ्यका कारण आफू उपस्थित हुन नसकेको सन्देश प्रचण्डलाई पठाएपछि बैठक आज पुनः बस्ने गरी स्थगित भएको थियो । एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर गत १० साउनयता पटकपटक संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेकै मागअनुसार सोमबार राति अबेर सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकार छानबिनका लागि आयोग बनाउन तयार भएको थियो । बैठकले गठन गरेको तीन दलीय कार्यदलले सोमबार नै जाँचबुझ आयोगसम्बन्धी तीन पृष्ठ लामो मस्यौदा तयार पारेको छ ।

मस्यौदाका लागि एमाले संसदीय दलका उपेनता सुवासचन्द्र नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डेको कार्यदल बनेको थियो ।

कार्यदलले तयार पारेको मस्यौदामा तस्करीका छानबिन गर्न उच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव गरिएको छ ।

मस्यौदामा सुन तस्करीबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छानबिन नरोक्ने पनि उल्लेख छ ।

गत २ साउनमा विमानस्थल भन्सार पास भएर बाहिरिएको तस्करीको ६० केजी सुन राजश्व अनुसन्धान कार्यालयले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us