काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको मंगलबार बिहान बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित भएको छ ।
राष्ट्रपतिले कार्यकारी शैली देखाएको भन्दै एमाले राष्ट्रपतिको बोलाएको बैठकमा नगएको हो । राष्ट्रपतिले संसदमा जारी अवरोध खुलाउन आग्रह गर्नका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएका थिए ।
एमाले सचेकत महेश बर्तौलाले आलंकारिक राष्ट्रपतिले कार्यसूची तोकेर दलहरुको बैठक बोलाएकाले नगएको प्रतिक्रिया दिए । ‘सेरेमोनियल राष्ट्रपतिले एजेण्डा नै खुलाएर दलहरुलाई बैठकमा बोलाउनु शोभनीय भएन’, बर्तौलाले भने, ‘त्यसकारण हामी गएनौं ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिनिधिसभामा रहेका सबै दल सहभागी भए ।
बर्तौलाले दलहरुबीचको सहमतिमा सुन तस्करी प्रकरण छानबिन गर्न समिति बन्न लागेकाले राष्ट्रपतिले सोही विषयमा बोलाउनुको औचित्य नभएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको आश्वानमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार राति अबेरसम्म सिंहदरबारमा बसेको बैठकले सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठनको सहमति गरेको थियो ।