
काठमाण्डु, ३२ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातवटै प्रदेशमा अनुशासन आयोगमा रहने पदाधिकारी र सदस्यहरुका लागि विज्ञापन आह्यान गरेको छ ।
रास्वपाले बिहीबार एक सूचना जारी गर्दै सातै प्रदेश र सबै जिल्लाका लागि अनुशासन आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरेको हो ।
पार्टी विधान, सिद्धान्त, दर्शन, प्रतिबद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन अनुशासन समिति गठन गर्न लागिएको सूचनामा उल्लेख छ ।
‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ सूचनामा उल्लेख छ ।
रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ । जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ । पदाधिकारीहरू कम्तीमा स्नातक उत उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
जिल्ला अनुशासन समितिमा एक प्रमुख र दुई सदस्य हुनेछन् । जिल्लाको प्रमुख हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने र सदस्यमध्ये एकजना कानुनको क्षेत्रमा अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिनुपर्ने मापदण्ड रास्वपाको छ ।
आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्ने पनि रास्वपाले बताएको छ।