विमानस्थल सुरक्षाबारे नयाँ नीति ल्याइने

काठमाण्डु टुडे २०८० साउन ३१ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा र व्यवस्थापनमा व्यापकर हेरफेर गर्न लागिएको बताएका छन् ।

विमानस्थल सुरक्षाबारे बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाका रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गर्नुपर्ने औंल्याए ।

उनले विमानस्थल सुरक्षामा विगतमा भएका कमजोरीबाट शिक्षा लिएर नयाँ रणनीति तय गर्नुपर्नेमा जोड दिए । ‘विमानस्थल राष्ट्रिय सुरक्षाको पहिलो ढोका हो । विगतका कमीकमजोरी सच्याउनेतिर हाम्रो सोच जान जरुरी छ’, उनले भने, ‘विमानस्थलको सुरक्षा र व्यवस्थापनको सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ ।’

विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्ने बेला आएको उनले बताए । उनले विमानस्थल सुरक्षा र व्यवस्थापन कसरी गर्ने भन्नेबारे अध्ययन गर्न विज्ञ र सरोकारवाला निकायका व्यक्ति सम्मिलित कार्यदल बनाइने घोषणा कार्यक्रममा गरे । कार्यदलको सुझावका आधारमा विमानस्थल सुरक्षा प्रबन्धमा नयाँ व्यवस्था गरिने जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बतए ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, रक्षा र गृह मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us