सुनिल शर्मालाई अर्थमन्त्री महतले हप्काए

काठमाण्डु टुडे २०८० साउन २८ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २८ साउन– अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि भए पद छाड्ने बताएका छन् ।

प्रमाणसहित आए आफू एकदिन पनि कुर्सीमा नबस्ने महतले बताए । आफूबारे पार्टीभित्र र बाहिर पनि प्रश्न उठेपछि महतले आइतबार काँग्रेस संसदीय दल बैठकमा सो विषयमा बोलेका थिए ।

२ साउनमा मोटरसाइकलको ब्रेक सुमा राखेर हङकङबाट भित्रिएको सय केजी सुन आन्तरिक राजश्व कार्यालयले भन्सार पास भएपछि सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा संलग्न रहेको आरोपसहित आफ्नै पार्टीका सांसद् सुनिल शर्माले समेत महतको राजीनामा मागेका थिए ।

प्रतिपक्षी एमालेले महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नतामा सुन तस्करी भएको आरोप लगाउँदै उच्चस्तरीय समिति गठनको माग राखेर लगातार संसद अवरुद्ध गर्दै आएको छ । महतले पार्टीभित्रैका व्यक्तिले आफूमाथि आधारहीन आरोप लगाएर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाए । महतले यस्ता कुरा गर्दै जाने भए आफूले पनि अरु धेरै नेता र सांसदका विषयमा धेरै जानकारी राखेको चेतावनी उनले दिए ।

महतले सांसद सुनिल शर्मातर्फ लक्षित गर्दै आफू संस्कारमा हुर्किएको मानिस भएकाले मात्र थप नबोलेको उल्लेख गरे । महतले शर्मा प्रक्राउको समय मिले नमिलेको बारे बहस गर्न सकिए पनि आफूबारे राखेको धारणाप्रति आपत्ति जनाए । उहाँले मेरो बारेमा जे धारणा राख्नुभएको थियो, के त्यो उचित थियो ?’, महतले भने, ‘मेरो संलग्नता छ भन्ने कुनै साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् ।’

सिद्धान्त र नीतिगत विषयमा बहस र विवाद भए पनि कसैलाई होच्याउने र लाञ्छना लगाउने प्रवृत्ति सह्य नहुने उनको भनाइ थियो । आफू र आफ्ना दाजु डा. रामशरण महतको संस्कारबाट सिक्न आग्रह गरे ।

पार्टी नेताका विषयमा केही लागेको भए बाहिर बोल्न नमिल्ने उनको भनाइ थियो । शर्मा पक्राउबारे आफूलाई जानकारी नभएको महतले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us