जनकपुर, २७ साउन– माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज लीलामणि पोखरेलले सुन प्रकरण फासफुस पार्न प्रमख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेको बताएका छन् ।
प्रेस सेन्टरले शनिबार जनकपुरमा गरेको कार्यक्रममा पोखरेलले एमाले नेता सुन प्रकरणमा मुछिएको आरोप लगाए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आफ्ना नेता पक्रन लागेको सुइँको पाएपछि एमाले अत्तालिएको जिकिर उनको थियो ।
तर, पक्राउ पर्न लागेका एमाले नेताबारे उनले थप बताएनन् । ‘सिआईबीले पक्राउ गरेको १ सय किलो सुन प्रकरणको सम्बन्धमा अनुसन्धान गर्दा एमालेका नेता फस्न सक्छन’, उनले भने, आफ्ना मान्छे बचाउन एमालेले निरन्तर सदन अवरुद्ध गर्दैछ ।’
राजश्व अनुसन्धान विभागले गत २ साउनमा भन्सार पास भएर बाहिरिएको क्विन्टल सुन सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।
सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
सरकारले भने सिआईबीले छानबिन गरिरहेको भन्दै समिति गठन जरुरी नभएको बताएको छ ।
पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानमा पार्टीको पूर्ण साथ रहेको पोखरेलले उल्लेख गरे ।
फरक प्रसंगमा उनले भ्रष्टाचार र अनियमिततामा आफ्ना पार्टीका नेता संलग्न भएको पाइए उन्मुक्ति नदिइने बताए ।
‘हाम्रै पार्टीका कोही नेता परेछन् भने भने भ्रष्टाचारविरोधी अभियान रोकिँदैन’, पोखरेलले भने ।