काठमाण्डु, २६ साउन– नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
काँग्रेस प्रमुख सचेतक रमेश लेखकले अपराह्न १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा बैठक बस्ने तय भएको हो ।
बैठकमा आफ्ना सांसद सुनिल शर्मा पक्राउबारे पनि काँग्रेसले छलफल गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) को शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा शर्मालाई बिहीबार निवासबाटै पक्राउ गरेको थियो ।
यस्तै बैठकमा अवरुद्ध संसद सुचारु गराउने तथा संसदमा विचाराधिन विधेयकहरुलाई अगाडि बढाउने लगायत विषयमा छलफल हुने लेखकले बताए । बिहीबार बसेको संसदीय समिति बैठकले संसदीय दल बैठक बोलाउने निर्णय गरेको थियो ।