
काठमाण्डु ,२३ साउन- नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नु पर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन। बैठकमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे ।‘
गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले सोधे, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ? ‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ ।
यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ? भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ? यी तमाम विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भएको बताए ।हाम्रो पार्टीले संसदमा कुरा उठायो ।
त्यसमा प्रतिपक्ष दलका सबै दलहरू रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । राप्रपाका माननीयहरूले ध्यानाकर्षण जनाइराख्नुभएको छ । सत्तापक्षकै सांसदहरूले पनि संसद र बाहिर बोलिरहेकाले छानबिन समिति चाहिन्छ भनेर राष्ट्रिय सहमति बनिसकेको छ ।’
‘