प्रतिनिधिसभा बैठक बहिस्कारको तयारीमा रास्वपा

काठमाण्डु टुडे २०८० असार ३१ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, ३१ असार– प्रतिनिधिसभा बैठकमा आज मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक–२०८० प्रस्तुत हुँदैछ ।
अपराह्न १ बजे बस्ने बैठकमा कानूनमन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकको सुरूवातमा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रेम सुवाल, सोबिता गौतम, सुमना श्रेष्ठ र ज्ञानबहादुर शाहीबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुनेछ ।

त्यसपछि कानुनमन्त्री गुरूङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यद्यपि प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजको बैठक अवरुद्ध गर्ने सम्भावना छ । मिटरब्याजीविरुद्धको विधेयक सरकारले संसदमा ल्याउन ढिलाई गरेको विरोधमा रास्वपाले संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।

सभापति रवि लामिछानेले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिपक्षी अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक शून्यतामा गएको भन्ने आरोप लगाउने सरकारले विधेयक ल्याउन ढिलाई गरेकामा आपत्ति जनाउँदै आइतबार सो विषय उठाएर संसद चल्न नदिने चेतावनी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us