हत्या आरोपी दुई वर्षपछि कारागार चलान

काठमाण्डु टुडे २०८० असार ३० गते १३:५० मा प्रकाशित

काठमाण्डु,३० असार- बैतडीमा एक महिलाको हत्या गरेको आरोपमा दुई वर्षपछि हत्या आरोपी कारागार चलान भएका छन् ।

हत्या आरोपमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका हुन।

उन लाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो । मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।

शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताए ।

गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us