प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा विराेध गर्ने

काठमाण्डु टुडे २०८० असार २० गते १५:०९ मा प्रकाशित

काठमाण्डु,२० असार- नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठक अपर्झट आयोजना गर्यौं। १८ गते देशका प्रधानमन्त्रीले देशको विपक्षमा रहेर, देशको सार्वभौमसत्ता सम्पन्न संसद्को गरिमाविपरीत गएर प्रधानमन्त्री संसदले बनाएको होइन, दिल्लीले बनाएको हो भन्नेजस्ता अभिव्यक्ति दिनुभयो।

यो अभिव्यक्तिलाई संसदीय दलले गम्भीरतापूर्वक लिएको छ। आज दिउँसो ३ बजे सं्सद बैठक छ। आज बसेको हाम्रो बैठकको सार भनेको प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान नै हो।

जनादेशमाथि गरेको अपमान हो। यो देशको सार्वभौमत्तामाथि गरेको आक्रमणको कुरा सदनमा राख्नेछौं,’ उनले भने। यो सामान्य विषय नभएको र एमालेले यसको सशक्त विरोध गर्ने उनले बताए।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक९पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us