फिल्म छायांकनका क्रममा शाहरुख खान घाइते

काठमाण्डु टुडे २०८० असार १९ गते १६:२३ मा प्रकाशित

काठमाण्डु,१९ असार– सुटिङका क्रममा दुर्घटना हुँदा शाहरुख खान घाइते भएका छन् ।

अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव रोक्नको लागि अमेरिकामै सानो शल्यक्रिया गरिएको थियो ।

उनको स्वास्थ्यमा केही सुधार आएपछि उनलाई मुम्बई फर्काइएको इ–टाइम्सको रिपोर्टले जानकारी दिएको छ । लस एन्जलसमा भइरहेको एक प्रोजेक्टको छायांकन गर्दा चोट लागेपछि उनको नाकबाट रगत बगेको बताइएको छ ।

रगत बग्न थालेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । ३१ वर्ष लामो करिअरमा शाहरुख सुटिङका क्रममा धेरैचोटि घाइते भएका छन् ।२०१७ मा रईसको सुटिङका क्रममा उनको घुँडा र अनुहारमा चोट लागेको थियो।

त्यस्तै सन् २०१३ मा फिल्म चेन्नई एक्सप्रेसको सुटिङ सकिएपछि उनले आठवटा शल्यक्रिया गरेका थिए ।सन् २००९ मा पनि उनको बायाँ काँधमा चोट लागेपछि शल्यक्रिया गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us