पाल्पामा जनसंख्या बढाउन दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार

काठमाण्डु टुडे २०८० असार १९ गते ९:२२ मा प्रकाशित

पाल्पा, १९ असार– पाल्पाको रिब्दीकोट गाउँपालिकाको १ नम्बर वडाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
वडामा जनसंख्या कम भएकाले यस्तो योजना अघि सारिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले बताए । वडामा जनसंख्या कमी भएका कारण खेतबारी बाँझै हुन थालेको उनको भनाइ छ ।

पोखरेलले जनसंख्या वृद्धि भए मात्र मुलुकको विकास र समृति हुने दाबी गरे । ‘खेतबारी बाँझै छ, विद्यमलयमा विद्यार्थी संख्या नपुगेर विद्यालयहरु आपसमा गाभ्नुपर्ने अवस्था छ’, पोखरेलले भने, ‘जनसंख्या वृद्धि नगरी यी समस्याको समाधान हुने देखिएन ।’

दुईभन्दा बढी सन्तान जन्माएर जन्मदर्ता गराउन आउनेलाई तत्काल पाँच हजार रुपैयाँ दिइने नीति वडासभाबाट पारित गरिएको जानकारी पोखरेलले दिए । आगामी आर्थिक वर्षमा उक्त शीर्षकमा ६० हजार रुपैयाँ छुट्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us