
चितवन, १८ असार– पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खस्दा अवरुद्ध सडक पाँच घण्टापछि सञ्चालनमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साँढे ७ बजेतिरबाट सडक पुनः सञ्चालनमा आएको हो । पहिरो पन्छाएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको ढुंगा लागेर ट्रक चालक घाइते भएका थिए भने ट्रक सडक किनारामा पल्टिएको थियो ।
उक्त ट्रक पन्छाएर सडक किनारामा राखिएको छ । गत आइतबार सोही स्थानमा आएको पहिरोका कारण १८ घण्टा बन्द भएको सडक त्यसयता पटकपटक बन्द हुँदै र सुचारु हुँदै आएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले पुनः पहिरो खस्ने सम्भावना कायमै रहेकाले अत्यावश्यक बाहेक उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।