ललिता निवास प्रकरणमा थप तीन पक्राउ

काठमाण्डु टुडे २०८० असार १७ गते २१:२७ मा प्रकाशित

काठमाण्डु, १७ असार– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ३ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आइतबार थप तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेको ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले जानकारी दिइन् ।

महर्जन सरकारी जग्गामा नक्कली मोही बनेका थिए । यस्तै भट्टराई काठमाण्डु महानगरपालिका–४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालयमा कार्यरत थिए । उक्त प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ परेका थिए ।
डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा तथा अधिकृतद्वय हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशमा पक्राउ परेलगत्तै रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us