ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ आरोपी अस्पतालमा

काठमाण्डु टुडे २०८० असार १५ गते १८:१८ मा प्रकाशित

काठमाण्डु ,१५ असार- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका ३ जना अस्पतालमा भर्ना भएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार उनीहरुलाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। प्रहरीका अनुसार शाहीले मेरुदण्ड र प्रोस्टेटको समस्या देखाएका छन् भने गौतमले आफूले लगाइरहेको अक्सिजन नै झिकेर प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् ।

मीनबहादुरले मुटु र रक्तचापसम्बन्धी समस्या रहेको बताएका छन् ।तीन जना अस्पताल भर्ना भएपछि कर्मचारी गोपाल कार्की मात्रै अहिले सीआईबीको हिरासतमा छन् ।

उनीविरुद्ध सरकारी मिसिल नै गायब बनाएर ललितानिवासको जग्गा हडप्न भूमिका खेलेको आरोप छ । उनीहरू असार १२ मा पक्राउ परेका थिए । आरोपितहरू विरुद्ध शुक्रबारबाट सीआईबीमा बयान लिन थालिएको छ ।

यता अस्पतालमा बसेका तीन जनाले आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका छन् । निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us