
काठमाण्डु, १५ असार- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना आरोपित बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च पुगेका थिए। उमेर र बिरामीका कारण थुनामुक्त गरेर अनुसन्धान गरिपाउँ भन्दै उनीहरुले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
आरोपितहरू मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई गैर कानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेका उनीहरूलाई बुधबार काठमाण्डु जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गर्न अनुमति भएको थियो ।
काठमाण्डु जिल्ला अदालतबाट १० दिनको म्याद थप भए लगत्तै उनीहरू बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।