हिजोदेखि पहिरोले अवरूद्ध नारायणघाट-मुग्लिन सडक अझै खुलेन

काठमाण्डु टुडे २०८० असार १५ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १५ असार- बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन।

आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ।

पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६र७ घन्टा लाग्ने बताए।

‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने। पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ।

सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्। काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us