
काठमाण्डु, १५ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान उत्पादन बढाउन सरकारले विभिन्न प्रयास गरेको बताएका छन् ।
२०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार शुभकामना दिंदै प्रधानमन्त्रीले देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको बताए ।
सरकारका प्रयासहरूले धान उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भए पनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात वर्षेनी बढ्दै गएको उनले बताए ।
प्रधानमन्त्रीले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको बताए । नेपालको संविधान २०७२ ले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी भएको स्मरण गरे । ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रुभतालाई कानुनी अधिकारको रूपमा स्थापित गरेको बताए ।
दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गरे । पछिल्लो समय जलवायु परिवर्तनका कारण खुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी, पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकरात्मक असर बढ्दै गएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेका छन् ।
यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पुरा हुन कठिन हुने र यसले गर्दा हाम्रो खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्न सक्ने देखिने भन्दै यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताए ।
‘जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अवलम्वनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशबासीहरूमा आव्हान गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित आज राष्ट्रिय धान दिवस मनाइँदैछ ।