
काठमाण्डु, १५ असार– आज राष्ट्रिय धान दिवस मनाइँदै छ ।
कृषि प्रधान देश नेपालमा असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’महिनाका रुपमा लिइन्छ । यही महिनाको मध्य दिन असारको १५ गतेदेखि विधिवत धान खेती सुरु हुन्छ ।
आजको दिन आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जनसहित धान रोपाईं गर्ने र दही चिउरा खाने प्रचलन छ । असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास रहिआएको छ । खेतीपाती बाहेकका काम गर्नेले पनि आज पर्वकै रुपमा दही च्यूरा खाई असार १५ मनाउँछन् ।
नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको हो । धान दिवसका अवसरमा उपत्यकासहित विभिन्न जिल्लामा रोपार्इं महोत्सव आयोजना गरिएको छ । नेपालको प्रमुख खाद्या बाली धानले कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत र समग्र कृषि क्षेत्रमा २० प्रतिशत योगदान दिँदै आएको छ ।
। तराईमा ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान खेती हुँदै आएको छ । पछिल्लो समय युवा जनशक्तिको पलायन, सिंचाइ, मलदाख र बिउको अभावजस्ता कारण धान उत्पादनमा ह्रास आएको छ ।