एमाले नेताहरुमाथि भौतिक हमला गरेर समस्या समाधान हुँदैनःभट्टराई

काठमाण्डु टुडे २०८० असार १४ गते २२:२५ मा प्रकाशित

काठमाण्डु, १४ असार– एमाले सचिव योगेश भट्टराईले आफ्नो पार्टी र नेताहरुमाथि भौतिक महला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन् ।

उनले कोशीको समस्या समाधान गर्न एमाले छलफलका लागि तयार रहेको समेत बताए । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको समूहले भट्टराईविरुद्ध बिहीबार इलाममा कालो झण्डा देखाएका थिए ।

शान्तिपूर्ण मान्यताभित्र रहेर विरोध गर्न आग्रह गर्दै भट्टराईले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका स्वीकार्य नहुने स्पष्ट गरे । आफूलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि आफू र आफूजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अभ्यासको प्रयोग गरिएकामा संघर्षका क्रममा आफूहरुले बिताएको समयले सार्थकता पाएको टिप्पणी भट्टराईले गरे ।

‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us