जसले चलाउँथे घर अगाडि बम राखेर पैसा माग्ने धन्दा

काठमाण्डु टुडे २०८० असार १४ गते २२:०९ मा प्रकाशित

भैरहवा, १४ असार– रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रूपन्देही सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दु हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारू छन् ।

रूपन्देही प्रमुख एसपी भरतबहादुर विकले पक्राउ परेकाहरुले गत १ असारमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्ड बाहिर र मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा प्रेसर कुकुर बम विस्फोट गराएको जानकारी दिए ।

सोही समूहले गत १ वैशाखमा रूपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम राखेको प्रहरीले बताए । उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । प्रहरीका अनुसार उनीहरुले घर नजिकै बम राख्ने र फिरौती माग्ने गरेका थिए ।

उनीहरुका साथबाट लु८५प ६२२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल तथा विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको विकले बताए । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिताअनुसार विस्फोटक पदार्थसम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

रूपन्देही जिल्ला अदालतब ट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको एसपी विकले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us