नेकपा एसका नेता भन्छन्ः सपनामा पनि एमाले भएर भाषण गरेको देख्छु

काठमाण्डु टुडे २०८० असार १४ गते २१:५६ मा प्रकाशित

काठमाण्डु, १४ असार– नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सपनामा पनि एमाले भएर भाषण गरेको देख्ने बताएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछि प्रदेशसभामा बोल्दै राईले एमाले छाड्नुपर्दा दुलही जसरी रुनु परेको बताए । राईले तत्काल एमालेसँग मिल्ने मन भएको समेत बताए ।

तर, एमाले संस्थापनले लगातार पेलानमा पारेका कारण आफूहरु एमाले छाड्न बाध्य भएको उनको भनाइ थियो । यद्यपि मुख्यमन्त्रीमा कार्कीको निरन्तरताका लागि विश्वासको मत दिन नसकिने राईले स्पष्ट गरे ।

‘हामीलाई त विश्वासको मत मात्र होइन, पार्टी मिलाउन मन लागेको छ’, राईले भने, ‘सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन ।’

पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको टिप्पणी गरे । उनले कार्की नेतृत्वमा प्रदेश सरकार बनेपछि आफूहरुको सरकारले
कानुनबमोजिम गरेका नियुक्ति पाएकालाई धमाधम हटाइएको र अदालतको आदेशमा फिर्ता भएको बताए । भोट चाहिएका बेलामा भने माया देखाउने गरेको भन्दै एमालेको आलोचना गरे । ‘यसो लुसुलुसु लागेर हिँड्दा गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ ।

कहिलेकाहीँ भोट चाहिएका बेला भोटे माया हरर्र जागेर आउँछ’, उनले भने, ‘हामी त एउटै पार्टीबाट छुटेको र भोलि पनि मिल्ने हो । यस्तो खालको कुरा आउँछ ।’ उनले विगतका गल्ती सच्याउने र पेल्न छाड्ने भए विश्वासको मत मात्र नभई पार्टी एकतै गर्न तयार रहेको उनको भनाइ थियो । ‘हिजोको गल्ती सच्याउन तयार हुनुपर्‍यो । हामी एउटा होइन, दुइवटै हात उठाएर समर्थन गर्छौं’, राईले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us