
काठमाण्डु ,१४ असार- ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।
ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ।
लामिछानेको मुक्का प्रहारबाट नासु तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।
‘लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ। तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ- लितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले भने।
उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।