निजीका शिक्षकलाई सरकारी सरह तलब दिन बालेनको निर्देशन

काठमाण्डु टुडे २०८० असार १४ गते ९:३९ मा प्रकाशित

काठमाण्डु, १४ असार– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निजी विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालय सरह तलब सुविधा दिन निर्देशन दिएका छन् ।

शिक्षा ऐनको व्यवस्थाअनुसार संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह सुविधा दिन उनले निर्देशन दिएका हुन् । शिक्षा ऐन–२०२८ को दफा १२ (७) (६) मा संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक सरह तलब दिनुपर्ने व्यवस्था छ ।

बिहीबार महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका निजी विद्यालयका शिक्षकहरुले सामुदायिकको भन्दा बम तलब पाउने गरेको गुनासो गरेकाले यस्तो निर्देशन भएको उल्लेख छ ।

‘काठमाण्डु महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ’, सूचनामा भनिएको छ, ‘सोही बमोजिम महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ ।’

उनले ऐनअनुसार तलब नपाए महानगरपालिकामा सम्पर्क राख्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us