आज बकर इद, देशभर सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८० असार १४ गते ९:३० मा प्रकाशित

काठमाण्डु, १४ असार– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदैछ ।
बकर इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक प्रचलन छ ।
आजका दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाजपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ ।
दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
आजका दिन काटिएको (कुर्बानी) मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने धार्मिक मान्यता छ ।
मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us