
काठमाण्डु, १४ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुधर्म र बहुसंस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने बताएका छन् ।
इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले विविधतायुक्त विशेषता बोकेको धार्मिक तथा सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताए ।
बकर इदको अवसरमा देशविदेशमा रहेका नेपाली मुस्लिम धर्मावलम्वीहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । मुलुक धर्मनिरपेक्ष रहेको र विविधताभित्रको एकता नै राष्ट्रिय पहिचान र गौरव भएको स्मरण प्रधानमन्त्रीले गरे ।
‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।
प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।