न्यायाधीशलाई ‘फटाहा र घूस्याहा’ भन्ने मन्त्रीलाई अदालतले बोलायो

काठमाण्डु टुडे २०८० असार १३ गते १९:४७ मा प्रकाशित

काठमाण्डु, १३ असार– कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई उच्च अदालदतले विराटनगरले अदालतको मानहानी सम्बन्धमा बयानका लागि बोलाएको छ ।

कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार राजभण्डारीलाई २० असारमा बयानका लागि आफैं उपस्थित हुन आदेश दिएको हो ।

राजभण्डारीका नाममा कारण देखाउ आदेश जारी गर्दै बयानका लागि आफैं उपस्थित हुनुपर्ने आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

अदालतको अवहेलनामा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले राजभण्डारीविरुद्ध मानहानीमा मुद्धा दायर गरेका थिए ।

न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने कोसी प्रदेशको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न गत २२ जेठ मा अन्तरिम आदेश दिएको थियो ।

सो प्रकरणमा उनले फैसल ागर्ने न्यायाधीशलाई ‘फटाहा’ को संज्ञा दिँदै घूस खाएर अन्तरिम आदेश जारी गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले न्यायाधीशले घूस खाएको विषयमा बोल्दा जेल जानुपरे तयार रहेको चेतावनी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us