
काठमाण्डु, १३ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयको काम गराइसँग सन्तुष्ट नरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार एमाले सांसद रघुजी पन्तको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री कार्यालय र सचिवालयबाट आफू सन्तुष्ट हुन नसकेको बताए ।
उनले सचिवालय र कार्यालयमा केही नयाँ गर्न चाहेको उल्लेख गरे । ‘माननीय रघुजी पन्तले तपाई सन्तुष्ट हुनुहुन्छ प्रधानमन्त्री कार्यालय, सचिवालय र सबैबाट भन्नुभएको छ’, उनले भने, ‘बास्तवमा म सन्तुष्ट छैन ।
र अब सन्तुष्ट हुनको निम्ति केही नयाँ गर्न चाहेको छु ।’ रघु पन्तजस्ता सांसदको राम्रा सुझावलाई आफूले पालना गर्ने उनको भनाइ थियो । पन्तले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्नेबारे भारत भ्रमणका बेला के कुरा भयो भन्ने पनि प्रशन सोधेका थिए । जवाफमा प्रधानमन्त्रीले आफूले कुराकानी गरेको र केही समयभित्रै प्रतिवेदन बुझ्ने काम हुने विश्वास व्यक्त गरे ।
तर, एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै प्रचण्डले यसअघिका सरकार र प्रधानमन्त्रीलाई प्रतिवेदनबारे प्रश्न किन नगरेको भन्दै प्रतिप्रश्न गरे । ‘इपिजी प्रतिवेदनबारे मैले आफ्नो ढंगले छलफल अगाडि बढाएको छु र केही समयभित्रै यो बुझ्ने काम हुन्छ भन्ने विश्वास बोकेर अएको छु’, उनले भने, ‘ तर म माननीय सदस्यलाई भन्न चाहन्छु अघिअघि पनि त प्रधानमन्त्री र सरकार थिए । उहाँहरुले सबै भ्याइदिएको भए त मैले गर्नै पर्दैनथ्यो नि ?’