
काठमाण्डु, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
पार्टीको काठमाण्डु–धादिङ सम्पर्क भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए ।‘
जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउनेउनले बताए। लामिछानेले राजनीतिमा लाग्नेहरु अरुलाई गाली नगरी सुसंस्कृत हुनुपर्ने उल्लेख गरे । उनले नेता इमानमा चलुञ्जेलसम्म मात्र उसको रक्षा गर्नुपर्ने र इमान छाडेको दिन कसैले बचाउन नसक्ले बताए ।
लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे। सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए ।
हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरूले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौचको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने बताए। लामिछानेले अरु पार्टीमा पनि राम्रा मानिसहरु रहेको भन्दै राम्रो काम गर्दा सबैको प्रशंसा गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।
‘अरु पार्टीका नेताहरुले राम्रो काम गर्दा प्रशंसा गर्ने गरौं । कसैले पनि तल्लो स्तरमा झरेर अरुको आलोचना नगरौं । तर्कका आधारमा बसह गरौं’, उनले भने ।