तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

काठमाण्डु टुडे २०८० जेठ ३१ गते ११:१५ मा प्रकाशित

तनहुँ , ३१ जेठ–तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत गरीएको छ ।

हिजो (मङ्गलबार) बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । उनले भने, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ ।

पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताएका छन ।

बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us