
काठमाण्डु, १५ जेठ– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन । उनले त्यसका लागि आफूले पनि सघाउने बताएका छन ।
आज (सोमबार) बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ ।
उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’
आफ्नो श्रीमान, छोरा र दाजुभाइको देहान्त कसरी भयो भन्ने थाहा पाउने चेष्टा गर्नैपर्ने बताउँदै उनले भने, ‘म पनि उहाँहरुलाई सघाउन चाहान्छु र सिंगो नागरिक उन्मुक्ति पार्टी पनि उहाँहरुलाई सघाउन चाहान्छ ।’
उनले आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने बताएका छन । उनले भने, ‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ ।
उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो । कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’