गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाण्डु टुडे २०८० जेठ १४ गते १८:३४ मा प्रकाशित

काठमाण्डु ,१४ जेठ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन्।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको चुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिएका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो।

यस्तै टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको उनले बताएकी छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us